नेयमारको पुनरागमनमा ब्राजिलको रवाफिलो जीत
२०१८ को प्रबल दावेदार एवम् विश्व फुटबलका स्टार खेलाडीले भरिपूर्ण टिम ब्राजिलले मैत्रीपूर्ण खेलमा क्रोएसियालाई २-० को गोलअन्तरले पराजित गर्न सफल भएको छ ।
फ्रान्सेली लिगका दौरान खुट्टामा चोट बोकेका विश्वका महंगा खेलाडी नेयमारको खुट्टाको शल्यक्रिया गरिएको थियो र उनी लगभग ४ महिना मैदान बाहिर रहेका थिए ।
आजको खेलमा नेयमार खेलको ४६ औं मिनेटमा मात्र मैदान प्रवेश गरेका थिए । उनले फेलिपे कौटिन्होको पासलाई सदुपयोग गर्दै ६९ औं मिनेटमा ब्राजिलको लागि गोल गरेका थिए । यो गोलले नेयमार फिट भएको र विश्वकपका लागि तयार भएको प्रस्ट भएको छ । ब्राजिलले ९० औं मिनेटमा सब्स्टिच्युट खेलाडी रोबर्टो फर्मिनोको गोलमा अग्रता २–० बनाएको थियो र खेल समाप्त भएको थियो ।
ब्राजिलका पुर्व खेलाडी टिटेको प्रशिक्षणमा रहेको ब्राजिलियन टोलीमा नेयमार, कौटीन्हो, फर्मिनो, मार्सेलो, ग्याब्रियल जेजस, थियागो सिल्भा, फ्रेड, पाउलिन्हो, कासेमिरो, विलियन जस्ता विश्व फुटबलका स्टार खेलाडीले भरिपूर्ण ब्राजिललाई विश्वकपको प्रमुख दावेदारको रुपमा हेरिएको छ ।

No comments:
Post a Comment